
काठमाण्डु, २५ असार– रुसले युक्रेनमा मिसाइल आक्रमण गर्दा कम्तिमा ४१ जनाको ज्यान गएको छ ।
राजधानी किभसहित विभिन्न सहरमा सोमबार रुसी फौजले मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
रोयटर्सका अनुसार राजधानी किभमा मात्र २७ जनाको मृत्यु भएको छ । आक्रमणमा परी १ सय ७० भन्दा बढी घाइते भएका छन् । राजधानीस्थित एक बाल अस्पतालमा समेत मिसाइल आक्रमण भएको बताइएको छ ।
आक्रमणपछि अभिभावकहरुको आफ्ना बिरामी सन्तान बोकेर भागाभाग भएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समेत आक्रमणको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल टेलिग्राममार्फत आक्रमणबाट एक सय बढी घरहरू भत्किएको बताए ।
उनले रुसलाई आतंकवादीको संज्ञा दिँदै त्यसको जवाफ खोजिने उल्लेख गरेका छन् ।