फेक न्यूज बनाएर उत्तेजित भिडको शासन लाद्न खोजिँदै छः मिडिया सोसाइटी

काठमाण्डु टुडे २०८१ वैशाख १५ गते १८:४७ मा प्रकाशित

काठमाण्डु, १५ वैशाख– नेपाल मिडिया सोसाइटीले स्थापित मिडिया हाउस र तिनका सञ्चालक तथा बहालवाला न्यायाधीशलाई बद्नाम गर्ने कुत्सित उद्देश्यका साथ कलाविहीन ‘फेक न्युज’ उत्पादन गरेर भ्रम फैलाएको भन्दै त्यसमा संलग्नलाई कारबाही माग गरेको छ ।

सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले शनिबार विज्ञप्ति जारी गर्दै जिम्मेवार मिडियाका बारेमा भ्रम फैलाउने त्यस्तो कुचेष्टाले आफूहरुलाई गम्भीर बनाएको बताएका छन् ।
शुक्रबार सिधाकुरा डटकम अनलाइनबाट ‘भ्रष्टाचारका चार सय मुद्दा डिसमिस गर्न सर्वोच्चका न्यायाधीशसहित डिल’ शीर्षकमा अडियो सामग्री प्रकाशित भएको थियो ।
सोसाइटीले यूट्युब भिडियोमार्फत् लोकतान्त्रिक संरचना, स्वतन्त्र मिडिया तथा न्यायपालिकामाथि आक्रमण गर्ने, जिम्मेवार नागरिक संस्थाहरुको बद्नाम गर्ने र अराजक उत्तेजित भीडको शासन लाद्ने दूषित प्रयास भइरहेको टिप्पणी गरेको छ ।
‘एक अमूक युट्युव च्यानलमा नेपालका स्थापित मिडिया हाउस र तिनका सञ्चालक तथा बहालवाला एक न्यायाधीशलाई समेत बद्नाम गर्ने कुत्सित उद्धेश्यका साथ विना कुनै तथ्य र प्रमाणका आधारमा आग्रहपूर्ण अभिनय गरिएको घटनालाई कानुनको पालना गराउने निकायहरुले तत्काल कारबाही गर्नुपर्दछ, यस प्रकारका गैरजिम्मेवार र नियोजित ‘फेक खुराक’ उत्पादन गर्ने कारखानाहरु मिडिया हुन नसक्ने तथ्यलाई स्पष्ट गर्नु आवश्यक छ,’ अध्यक्ष कँडेलले विज्ञप्तिमार्फत् भनेका छन्, ‘यस्ता खालका फेक कारखानाका पछाडि र ‘हेट स्पिच‘ को वर्गमा पर्ने क्रियाकलापलाई सरकारले तत्कालै कारबाहीको दायरामा ल्याउन समेत हामी जोडदार माग गर्दछौं ।’

सोसल मिडियाको चरम दुरुपयोग गर्ने, प्रविधिलाई निहित उद्धेश्यका लागि प्रयोग गरेर गलत सूचना फैलाउने तथा आम जनता र सिंगो समाजलाई नै गैरजिम्मेवार भीडमा बदल्ने कुचेष्टाका बारेमा विश्वभरि अन्तराष्ट्रिय मिडिया संस्था, युनेस्को र संयुक्त राष्ट्रसंघले समेत लगातारजस्तै गरी चिन्ता जाहेर गरेको भन्दै अध्यक्ष कँडेलले नेपालमा पनि त्यस्तै प्रयास भइरहेको बताए ।
‘विश्वभर प्रविधिको चरम दुरुपयोग गरेर लोकतान्त्रिक संरचना र स्वतन्त्र मिडिया तथा न्यायपालिकामाथि आक्रमण गर्ने, जिम्मेवार नागरिक संस्थाहरुको बद्नाम गरेर अराजक र उत्तेजित भीडको शासन लाद्ने दूषित हावा चलिरहेको छ’, उनले भनेका छन्, ‘त्यसकै पछिल्लो घटनाका रुपमा शुक्रबार एक यूट्युब भिडियोले कलाविहीन ‘फेक न्युज’ उत्पादन गरेर नेपाली मिडिया जगत र स्थापित तथा जिम्मेवार मिडिया संस्थाका बारेमा भ्रम फैलाउने कुचेष्टाको समाचारले हामीलाई गम्भीर बनाएको छ ।’
अभिव्यक्ति स्वतन्त्रताका नाममा सामाजिक मूल्य, मान्यता र जिम्मेवारीलाई पूर्णतः वेवास्ता गरेर सोसल मिडियामा भइरहेको गालीगलौज, अल्पसंख्यक तथा महिलाद्धेषी दुर्भावाना र धार्मिक उन्माद जस्ता प्रवृत्ति बढ्दै गइरहेकोप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । पछिल्लो समय नेपालमा भ्रष्टाचार विरुद्धका केही घटना तथा बेथिति र विकृतिको भण्डाफोरका सन्दर्भमा नेपाली जिम्मेवार मूलप्रवाहको मिडियाले अग्रणी भूमिका खेल्दै आएका कारण स्वार्थ समूह र राज्य संयन्त्रको दुरुपयोग गर्नेहरु अत्तालिंदै आएको दाबी उनको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us