ठमेलबाट चिनियाँसहित दुई पक्राउ

काठमाण्डु टुडे २०८१ वैशाख २६ गते १८:३० मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– राजस्व छली आरोपमा काठमाण्डुबाट चिनियाँ नागरिकसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले क्षेत्रपाटी र ठमेलबाट दुई जनालाई पक्राउ गरेको हो । ब्युरोका एसपी होबिन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक याओ लियाङलिन र महोत्तरी घर भई हाल चाँगुनारायण बस्ने दीपेन्द्र श्रेष्ठ छन् । लियाङलिन जियाङ सु नामको होटल र रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

श्रेष्ठ पनि ठमेलमा होटल चलाउँदै आएका छन् । अवैध चिनियाँ मुद्रा भित्र्याएर भन्सार तथा राजस्व छली गरेको विषयमा समेत उनीहरुमाथि छानबिन जारी छ ।

प्रहरीले लियाङलिनको होटलबाट ३७ लाख ८१ हजार ३ सय ५० रुपैयाँ, १२ हजार भारतीय रुपैयाँ, दुई हजार थाई भाट, ५ सय ३० अमेरिकी डलर, ३ सय युरो र ३२ हजार ७० चिनियाँ युआन बरामद गरेको छ ।

प्रहरीले दुवै जनालाई राजस्व अनुसन्धान विभाग हरिहर भवनको जिम्मा लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us