अनलाइनमार्फत ठगी गरेको आरोपमा ४ जना पक्राउ

काठमाण्डु टुडे २०८१ जेठ ६ गते १८:२६ मा प्रकाशित

काठमाण्डु, ६ जेठ– प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेको नमोबुद्ध नगरपालिका–२ का ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ का ३० वर्षीय सञ्जय बस्नेत, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ का १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोकको पाँचपोखरी थानपाल गाउँपालिका–५ का २१ वर्षीय करण तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स् एप, इन्टाग्रामलगायतमा साथी बनाई कुराकानी गरी विश्वास दिलाउने र विभिन्न सामानहरु गिफ्ट पठाइदिएको छु भन्सार शुल्क भन्दै रकम हाल्न लगाएर ठगी गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

अनालइनमा लगानी गर्दा रकम दोब्बरले बढ्ने भन्दै आश्वासन दिँदै रकम हाल्न लगाएर पनि ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिएका छन ।

यो समूहले अहिलेसम्म १६ लाख ५९ हजार रुपैयाँ ठगी गरेको पाईएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरु क्रिप्टोमार्फत कारोबार गरेको समेत खुलेको छ । सञ्जयले मात्रै ६ करोड ३८ लाख ६५ हजार ४९६ रुपैयाँको कारोबार गरेको देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us