
काठमाण्डू, २१ असार– कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै बेला आफूले गिरिजाप्रसाद कोइराला र ज्ञानेन्द्र शाहलाई एउटै भनेको बताएका छन् ।
शनिबार स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा काठमाण्डूमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीबाट निकालेका कारण कोइराला र प्रधानमन्त्रीबाट निकालेका कारण ज्ञानेन्द्र एउटै हुन् भनेको बताए ।
‘स्व. गिरिजाबाबु र मेरो बीचमा झगडा पनि भएकै हो । सबैलाई थाहा छ । उहाँले पार्टीबाट निकालिदिनु भयो । मैले अर्को पार्टी खोलेँ फेरि । त्यसकारण अनि मैले एकपटक के भनेको थिएँ भने राजाले मलाई खोस्यो, अनि मैले गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको थिएँ । एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भनेर त्यस्तो हाम्रो सम्बन्ध हो,’ उनले भने ।
उनले स्व. कोइराला नभएको भए गणतन्त्र ल्याउन कसैले पनि सोच्न नसक्ने स्थिति नरहेको बताए । त्यसकारण गणतन्त्र ल्याउने पहिलो श्रेय गिरिजाप्रसाद कोइरालालाई जाने उनको भनाइ थियो ।
‘उहाँ नभएको भए आज गणतन्त्र आउने थिएन । त्यस्तो आँटिलो व्यक्ति हो । हिम्मतिलो व्यक्ति हो । गणतन्त्र ल्याउन भनेर सोच्नै सक्दैन थिए । उहाँले हिम्मत गर्नुभएकै हो । अरु पार्टीसँग सरसल्लाह गरेर, पहिलो संविधान सभाबाट संविधान बनेन तर गणतन्त्र पहिलो संविधान सभाको पहिलो दिनमै पास भयो । गणतन्त्र ल्याउने सच्चा मानेमा भन्ने हो भने गिरिजाप्रसादलाई जान्छ श्रेय । उहाँले गणतन्त्र ल्याउनुभएको हो,’ उनले भने ।
—न्युज एजेन्सी नेपाल