युक्रेनविरुद्धको लडाइँमा रुसका लागि विशाल सैन्यशक्ति पठाउँदै उत्तर कोरिया

काठमाण्डु टुडे २०८२ असार १२ गते १७:०८ मा प्रकाशित

एजेन्सी– उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा सघाउन जुलाई महिनाभित्रै रुसमा थप सैनिक पठाउने तयारी गरेको छ । यसबारे दक्षिण कोरियाली सांसदले सियोलको गुप्तचर निकायबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै बिहीबार बताएका छन् ।

उत्तर कोरियाले रुसको कुस्र्क क्षेत्रको पुनस्र्थापनाका लागि सैन्य निर्माणकर्ता र सेपर पठाउने रुसको सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुले प्योङयाङ भ्रमणका क्रममा बताएका थिए । उनको भनाइ एक सातापछि पुष्टि भएको हो ।

‘उत्तर कोरियाले रुसलाई आफ्नो सेना पठाउने र हतियार आपूर्ति गर्ने क्रम जारी राखेको छ र कुस्र्कलाई पुनः कब्जामा लिने मस्कोको प्रयासमा उसको सहयोगले महत्वपूर्ण भूमिका खेलेको हामीले देखेका छौं,’ दक्षिण कोरियाली सांसद ली सियोङ–क्वेनले गुप्तचर निकायको जानकारीलाई उद्धृत गर्दै सञ्चारकर्मीसँग भने ।

‘गत वर्षको अक्टोबरमा ११ हजार सैनिक पठाएपछि रुसले कुस्र्कको पुनर्निर्माणमा सहयोग गर्न चार हजार सैनिक र थप छ हजार निर्माणशक्ति परिचालन गर्ने घोषणा गरिसकेको छ,’ लीले भने, ‘राष्ट्रिय गुप्तचर सेवाको आँकलनअनुसार थप तैनाथी ‘जुलाई वा अगष्टको सुरुमा हुन सक्छ ।’ ‘यसको प्रमाण के हो भने शोइगुले अघिल्लो तैनाथीको समयमा पनि लगभग एक महिना अघि प्योङयाङको भ्रमण गर्नुभएको थियो र अहिले पनि त्यो देखिन्छ,’ लीले भने ।

तयारी पहिले नै चलिरहेको सङ्केत गर्दै उनले भने, ‘उत्तर कोरियाले रुस पठाउनका लागि लागि कर्मचारीहरू चयन गर्न सुरु गरिरहेको जानकारी छ ।’ तीन वर्षभन्दा लामो युक्रेनी आक्रमणका क्रममा उत्तर कोरिया रुसको प्रमुख सहयोगी बनेको छ र कुस्र्कबाट युक्रेनी सेनालाई पछि हटाउन क्रेमलिनलाई सहयोग गर्न हजारौं सैनिक र कन्टेनरभर हतियार पठाएको छ ।

‘उत्तर कोरियाले रुसलाई जहाज र सैन्य विमानबाट वितरण गरिने क्षेप्यास्त्र र लामो दूरीको रकेट प्रणालीसहित अनुमानित करोडौं तोपका गोला उपलब्ध गराएको विश्वास गरिन्छ,’ लीले भने । गत वर्ष रुसी नेता भ्लादिमिर पुटिनको आणविक शक्ति सम्पन्न उत्तर कोरियाको दुर्लभ भ्रमणका क्रममा रुस र उत्तर कोरियाबीच पारस्परिक प्रतिरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

दक्षिण कोरियाली गुप्तचर सेवालाई उद्धृत गर्दै लीले भने, ‘अहिलेसम्म रुसका लागि लडिरहेका करिब ६०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।’

प्योङयाङले गत अप्रिलमा पहिलो पटक युक्रेनमा रुसको युद्धलाई समर्थन गर्न सेना तैनाथ गरेको पुष्टि गरेको थियो । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जोङ उनले थप सहयोगको योजनाको पुष्टि गरेका छन् । तर, विस्तृत विवरण भने दिएका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us