ओलीमाथि शेखरको प्रश्नः तपाईं र मन्त्रीहरुलाई विदेश सयर गर्न पैसा हुने, उखु किसानलाई दिन नहुने ?

काठमाण्डु टुडे २०८२ असार २१ गते २२:३१ मा प्रकाशित

काठमाण्डू, २१ असार– कांग्रेस नेता शेखर कोइरालाले विगत लामो समयदेखि उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेकामा सरकारप्रति रोष प्रकट गरेका छन् ।
स्व.गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले किसानप्रति सरकारको दृष्टिकोण खराब रहेको बताए ।

सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेको विषयमा सभापति शेरबहादुर देउवा बेखबर रहेकामा पनि उनले असन्तुष्टि जनाए ।

‘यो सरकारको सोच कति गलत छ हेर्नुस् । सभापतिजीलाइ थाहा नै छैन । २५ वर्षदेखि सुगर किन्न अनुदान दिइरहेको थियो । उखु किसानलाई । यस पटक अनुदान छैन, किनभने सरकारसँग पैसा छैन रे जम्मा डेढ अर्ब लाग्थ्यो ।’
किसानलाई अनुदान दिन पैसा छैन भन्ने सरकारका प्रधानमन्त्री केप ओली र मन्त्रीहरु विदेश सयर गरेर ढुकुटीको रकम खर्च गरिरहेको औंल्याए ।
‘उखु किसानलाई दिन पैसा छैन भन्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरु विदेश गएको गएकै देख्छु । दुई चारपटक मन्त्रीहरु विदेश नगइदिए त डेढ अर्ब त यहीँ उठिहाल्छ । यस्तो सोच राखौँ । आम किसानलाई त दिनुपर्छ । किसानलाई नयाँ टाइपले हेर्नुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री ओली जम्बो टोली लिएर गत १४ असारमा स्पेन भ्रमणमा गएका थिए । उनी शुक्रबार मात्र स्वदेश फर्किएका छन् ।

कृषि मन्त्रालयले अनुदानका लागि प्रस्ताव लगे पनि पैसा नभएको भन्दै मन्त्रिपरिषदले यो वर्ष उखु किसानलाई अनुदान नदिने निर्णय गरेको थियो । सरकारले ०५३ सालदेखि हरेक वर्ष उखु किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिँदै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us