कोशीमा नयाँ सरकार गठनको बाटो खोल्न एमाले–माओवादीको माग

काठमाण्डु टुडे २०८१ वैशाख २६ गते १७:३४ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– एमाले र माओवादी केन्द्रले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिएका छन् ।

प्रदेश प्रमुख पर्शराम खापुङसमक्ष प्रदेश सरकार विहीनताको अवस्थामा रहेको भन्दै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् । एमाले र माओवादीले समर्थन फिर्ता लिएको ३० दिन पुग्दासम्म मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिएकाले सरकार विहीनताको अवस्था सृजना भएको दाबी गरेका छन् ।

पत्र बुझिसकेपछि प्रदेश प्रमुख खापुङले संविधान, ऐन र कानूनअनुसार अघि बढ्ने बताए । एमाले संसदीय दलका नेता हिक्मत कार्की र माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्बोसहितको टोलीले मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएको पत्रसमेत प्रदेश प्रमुख खापुङलाई बुझाए ।

उनीहरुले सभामुख अम्बरबहादुर विष्टलाई संयुक्त पत्र लेखेर मुख्यमन्त्री कार्कीले व्श्विासको मत लिए नलिएकोबारे जानकारी मागेका थिए । सभामुख विष्टले कार्कीले विश्वासको मत नलिएको भन्ने व्यवहोराको पत्र उनीहरुलाई दिएका थिए । उक्त पत्रसमेत उनीहरुले खापुङलाई बुझाएका हुन् ।

एमाले र माओवादीले गत चैत २६ गते केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us