६ सांसद् लिएर मैले पार्टी फुटाउन लागेको भन्ने हल्ला निराधार होः खनाल

काठमाण्डु टुडे २०८१ वैशाख २६ गते १८:२० मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो नेतृत्वमा पार्टी विभाजन हुन लागेको हल्ला निराधार भएको दाबी गरेका छन् ।

खनालले बुधबार विज्ञप्ति जारी गर्दै अवाञ्चित, स्वार्थी र कम्युनिष्टविरोधी सुनियोजित रुपले त्यस्तो हल्ला चलाएको बताएका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा विभाजनपछि एकीकृत समाजवादी खनालको नेतृत्वमा विभाजित हुन लागेको चर्चा चलेको थियो । ‘केही दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ । ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रुपले फैलाइएको छ’ खनालले भनेका छन्, ‘केही अवाञ्छित, स्वार्थी र कम्युनिष्टविरोधी तत्वहरुले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टीव्यापी रुपमा एउटा भ्रमको कुहिरो फैलाइदियो ।’

खनालले पार्टी विरोधी छुद्रहरुले चलाएको हल्लाका पछि नलाग्न पार्टी कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई अपिल गरेका छन् । ‘पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, समर्थक र शुभेच्छुक कमरेडहरू तथा साथीहरू । प्रतिकृयावादीहरू, अवसरवादीहरू र पार्टीविरोधी क्षुद्र तत्वहरूका यस प्रकारका अनर्गल प्रचारबाट होसियार बनौं । वर्तमान नयाँ समीकरणमा हाम्रो समर्थन र सहभागितालाई जारी राखौं । पार्टी महाअधिवेशनको तयारीमा हरेक प्रकारले एकताबद्ध भएर जुटौं’, खनालले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us