सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउनैपर्ने काँग्रेसको ठहर

काठमाण्डु टुडे २०८१ वैशाख २६ गते १८:०६ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नैपर्ने निस्कर्ष निकालेको छ ।

काँग्रेस प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको जानकारी दिए । सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बुधबार पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका थिए । बैठकपछि लेखकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नैपर्ने अडानबाट पछि नहट्ने बताए ।

‘सरकारी वकिलले जिल्ला अदालत रुपन्देहीमा बुझाएको प्रतिवेदनमा रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको उल्लेख छ’, लेखकले भने, ‘उनलाई जोगाउन भइरहेका चलखेल हामीलाई मान्य छैन । संसदीय समिति गठन हुनैपर्छ भन्ने हाम्रो बटमलाइन हो ।’

उनले सहकारीबाट लाखौं नेपाली जनता ठगिएकाले काँग्रेस कानमा तेल हालेर नबस्ने उल्लेख गरे । उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगीमा मुछिएको आरोप लगाउँदै काँग्रेसले संसदको अघिल्लो अधिवेशन अवरुद्ध गरेको थियो ।

काँग्रेसले एमाले नेता खगराज अधिकारी नेतृत्वमा गण्डकी प्रदेशमा असंवैधानिक रुपमा सरकार गठन गरिएको पनि आरोप लगाएको छ ।

अधिकारीले २३ वैशाखमा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । ६१ सदस्यीय प्रदेशसभाका ३० जनाले मात्र अधिकारीको पक्षमा विश्वासको मत दिएका थिए । सभामुख कृष्ण धितालले अधिकारीलाई सदनका बहुमत सदस्यको समर्थन रहेकाले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

काँग्रेसले बहुमतका लागि न्यूनतम ३१ सांसदको समर्थन आवश्यक पर्ने भन्दै त्यसविरुद्ध अदालत जाने बताइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us