ओलीसँग भिडेका कारण मलाई निषेध गरियोः भीम रावल

काठमाण्डु टुडे २०८१ वैशाख १३ गते १६:३० मा प्रकाशित

काठमाण्डु, १३ वैशाख– एमाले नेता भीम रावलले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेकै कारण केही दिनअघि गोदावरीमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आफूलाई निषेध गरिएको बताएका छन् ।

रिपोर्टस क्लबमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई एमाले नेतृत्वले गरेको निषेधलाई गम्भीर रूपमा लिएको बताए । आफू गोदावरी बैठकमा जाने मनस्थितिमै भए पनि नबोलाइएको भन्दै रावलले असन्तुष्टि जनाए । ‘म एमाले महाधिवेशन प्रतिनिधि परिषद्को सदस्य हुँ । म त्यहाँ जाने मनस्थितिमै थिएँ । पार्टी त धेरै मानिसहरूको त्याग र पसिनाबाट बनेको हुन्छ नि । त्यो कुनै कम्पनी वा नीजि हुँदैन । नेतृत्व परिवर्तन हुन्छ । महाधिवेशनमा प्रत्येक व्यक्तिको चुन्ने र चुनिने अधिकार हुन्छ । कसैले टिका लगाइने, कुनै जिल्ला अधिवेशन भयो त्यसका लागि यहीबाट आदेश दिने ? ’, रावलले भने ।

एमालेको गोदावरी बैठकमा गरिएको व्यवहार जबज र एमालेको परम्पराविपरीत रहेको उनको भनाइ थियो । ‘म बैठकमा जान इच्छुक थिएँ । मेरो त परिचयपत्र नै बनेको रहेछ । अनि कोही कोही मान्छेले तर्क गरेको सुनें को हो भीम रावल छुट्टै पठाउनुपर्ने ? त्यो बेनामी यापबाट महाधिवेशन यति गते हुन्छ भन्ने जानकारी दिँदा केपी ओली जी मेरो ठाउँमा भएको भए जानुहुन्थ्यो’, उनले भने , ‘एमालेको गोदावरी बैठकमा जबज र एमालेको परम्परा विपरीत कसैलाई निषेध गर्ने, र महाधिवेशनमा उम्मेदवार बनेको कारणले प्रतिशोध साध्नेबाहेक केही पनि होइन । त्यसलाई मैले गम्भीर रूपमा लिएको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us