एउटै कम्युनिष्ट केन्द्र निर्माणको संकल्पसहित अघि बढेका छौंः प्रचण्ड

काठमाण्डु टुडे २०८१ वैशाख १० गते १०:१७ मा प्रकाशित

काठमाडौँ, १० वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीचको सहकार्यमा जोड दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सोमबार शुभकामना दिँदै उनले ती शक्तिहरुको सहकार्यबाट मुलुक सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भएको बताए ।

कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा संकल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्न सकिने प्रधानमन्त्रीको भनाइ थियो ।

‘विचारधारात्मक संघर्ष एवं एकता र विभाजनका अनेकौं अनुभवसहित यतिबेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका छौं’, उनले भनेका छन्, ‘यसले हामीलाई एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नेछ भने अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र संकल्पलाई सार्थक तुल्याउने छ ।’

आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न सङ्कल्प गर्ने दिन भएको उल्लेख गरे ।

कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा सङ्कल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्दै आशाको रक्तसञ्चार सिर्जना गर्न सम्भव छ भन्ने निष्कर्षका साथ सुरू गरिएको सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पुर्याउनु सबैको साझा जिम्मेवारी भएकामा उनले जोड दिए ।

त्यसका लागि सम्पूर्ण वामपन्थी शक्ति एवं क्रान्तिकारी जनसमुदायको सकारात्मक योगदान रहनेमा आफू विश्वस्त रहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us