सोडारीको दाबीमा नाउपाका पाँच सांसदको आपत्ति, पुगे प्रदेश प्रमुखको कार्यालय

काठमाण्डु टुडे २०८१ वैशाख ६ गते १७:२१ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीले गरेको दाबीमा नागरिक उन्मुक्ति पार्टीका पाँच जना सांसदले समर्थन नरहेको भन्दै प्रदेश प्रमुखलाई जानकारी गराएका छन् ।

आज (बिहीबार) एकीकृत समाजवादीका सोडारीले एमाले, माओवादी, नाउपासहितको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेलगत्तै नाउपाको असन्तुष्ट पक्षले आफूहरूको समर्थन नरहेको जानकारी दिएको छ ।

कांग्रेस संसदीय दलका नेता तथा काम चलाउ मुख्यमन्त्री कमलबहादुर शाहको साथमा नाउपाका ५ सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन ।

नाउपाको बहुमत पक्ष कांग्रेससँगको गठबन्धनमा रहेकाले सोडारीको दाबीप्रति असहमति जनाएको छ । योसँगै सोडारीको दाबी विवादमा परेको छ ।

नाउपका ७ सांसदमध्ये कांग्रेससँग लक्ष्मणकिशोर चौधरीसहित ५ जना छन् भने कैलाश चौधरीसहित २ जना, एमाले, माओवादीसहितको गठबन्धन नजिक छन् ।

एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका ४, नाउपाका ७ गरी ३१ सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा सोडारीले दाबी पेस गरेका छन् । तर नाउपाका ५ जनाले असहमति जनाएपछि उनको दाबीमाथि प्रश्न उठ्न पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us