नेपालमा वामपन्थी सरकार स्थिर भएको हेर्न चाहन्छौँ: चीन

काठमाण्डु टुडे २०८१ वैशाख ६ गते १६:३० मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– छिमेकी राष्ट्र चीनले नेपालमा वामपन्थीशक्ति हरुको एकतामा जोड दिएको छ । चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा चीनको इन्टरनेशन डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी) का प्रमुख लिउ चियानचाओले वामपन्थी एकीकरणमा जोड दिएका हुन ।

आफ्नो कार्यकक्षमा बिहीबार भएको भेटका क्रममा चियानचाओले नेपालमा एमाले र माओवादी केन्द्रसहितको वामपन्थी पार्टीहरूको सरकार बन्दा चीन खुसी भएको बताएको स्रोतले जानकारी दिएको छ ।

‘दुई पार्टी मिल्नु नेपाली जनताका लागि राम्रो छ’, उनले भने, ‘हामी वामपन्थी सरकार स्थिर भएको हेर्न चाहन्छौँ ।’उनले अगाडि भने, ‘वामपन्थी सरकार बन्नु भनेको नेपाल स्वर्णिम यात्रातिर अग्रसर बन्नु हो । वामपन्थी एकताबाट नै नेपालको विकास गर्न सकिन्छ । वामपन्थी एकीकरण गरेर जाँदा राम्रो हुन्छ ।’

सो अवसरमा उनले सीपीसी र माओवादी केन्द्रबिचको सम्बन्ध घनिष्ठ रहेको उल्लेख पनि गरे । उनले भने, ‘चीन र नेपालबिच घनिष्ठ सम्बन्ध मात्रै होइन । हामी साथी र कमरेड पनि हौँ ।’ अमेरिकाप्रति लक्षित गर्दै उनले चीनलाई घेराबन्दीमा पार्न केही मुलुकले नेपालमा सहयोगमार्फत हात बढाइरहेको पनि जिकिर गरे ।

सो कुरा चीनलाई सह्य नहुने बताउँदै उनले जसले जतिसुकै भाँजो हाल्ने कोसिस गरे पनि नेपाल र चीन बिचको सम्बन्ध परिवर्तन हुन नसक्ने बताएका थिए । सो अवसरमा माओवादी केन्द्रका महासचि गुरुङले आफूहरू कुनै पनि प्रकारको अस्थिरता र द्वन्द्व निम्त्याउन खोज्ने तत्त्वप्रति सचेत रहेको बताएका छन ।

नेपाल एक चीन नीति प्रति प्रतिबद्ध रहेको पनि उनले बताएका छन । उनले भने, ‘नेपालले स्थायित्व र पञ्चशील सिद्धान्तमा जोड दिन्छ’, उनले भने, ‘विगतदेखि नै पश्चिमा शक्तिले नेपालमा प्रभाव जमाउन प्रयास गरे पनि हाम्रो पार्टी र सरकारले चेक एण्ड ब्यालेन्स गर्छ ।’

उनले प्रचण्ड नेतृत्वको सरकारले त्यो दिशामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको र आगामी दिनमा पनि खेल्ने बताए । यस्तै उनले आफूहरू वामपन्थी एकता र सरकारलाई निरन्तरता दिन प्रयासरत रहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us