एमालेलाई एकीकृत समाजवादीको २ बजेसम्मको अल्टिमेटम

काठमाण्डु टुडे २०८१ वैशाख ६ गते १४:३२ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– एमालेले सुदूरपश्चिम प्रदेशमा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गर्न खोजेपछि नेकपा एकीकृत समाजवादीले कोर्स परिवर्तनको सङ्केत सुरु गरेको छ ।

एमालेले समाजवादीलाई सहयोग नगरेको अवस्थामा कांग्रेस, नागरिक उन्मुक्ति पार्टीसहितको वैकल्पिक गठबन्धनलाई पुनः ब्युँताएर अगाडि बढ्ने बताएको तयारी रहेको समाजवादी निकट स्रोतले जानकारी दिएको छ । सुदूरपश्चिममा समाजवादीले एमालेलाई दिउँसो २ बजेसम्म निर्णय गर्न अल्टिमेटम दिएको छ ।

त्यसपछि पनि एमालेले निर्णय नगरेको अवस्थामा कांग्रेससहितको वैकल्पिक गठबन्धनको सहयोगमा सरकार निर्माण गर्ने समाजवादी निकट स्रोतले जानकारी दिएको छ ।

हिजो (बुधबार) एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबिचको छलफलमा प्रदेशमा मिलेर जाने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।

सो छलफलको क्रममा देउवा सकारात्मक देखिएपछि एकीकृत समाजवादीले एमालेलाई अल्टिमेटम दिने अवस्थामा पुगेको हो । एमाले सुदूरपश्चिम संसदीय दलले भने केन्द्रको निर्देशन कुरेर बसेको जानकारी दिएको छ । एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र सिंह रावलले पनि त्यसको पुष्टि गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us