सरकार असफल भयो, मन्त्रीहरूले राजीनामा दिए हुन्छ: सोविता गौतम

काठमाण्डु टुडे २०८० फागुन १३ गते १७:२७ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– रास्वपाकी सांसद सोविता गौतमले वर्तमान सरकारका मन्त्रीहरूले सांसदहरूलाई समेत भेट्न आनाकानी गर्ने गरेको आरोप लगाएकी छन । आज आईतबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन ।

उनले सरकार असफल भएकाले अब मन्त्रीहरूले राजीनामा दिनुपर्ने पनि बताएकी छन । उनले भनिन् ‘सांसदलाई भेट्न पनि मन्त्रीहरूले आनाकानी गर्छन् । मन्त्रीहरूले भेट्छन् चाहीँ कसलाई ?’ उनले प्रश्न गरिन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक–पटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएको पनि बताएकी छन ।

उनले प्रदेश सरकारले विकास निर्माणको काममा सहजीकरण गर्नुपर्ने भए पनि प्रदेश सरकारको त्यस्तो भुमिका हुन नसकेको बताएकी छन । यो काम यसले र त्यसले गर्ने भनेर सबै तहको सरकार पन्छिने गरेको भन्दै उनले प्रदेश संरचनाको कारण झनै अप्ठ्यारो परेको बताएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us