इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस्, राजावादी छाडा हुँदैछन्ः प्रचण्ड

काठमाण्डु टुडे २०८२ जेठ १८ गते १७:१७ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याएर उफार्ने काम गरिरहेको दाबी गरेको छ ।

पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले भने, ‘अहिले राजावादीहरू बडो कताकताबाट पैसा ल्याएका छन् । पैसा त उनीहरूले थुपारेकै होलान् । त्यही पैसाको बलमा भाडाको मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिरहेको छु ।

तपाईंहरूले देखिराख्नुभएको छ ।’ उनले राजावादीहरू छाडा भएको र आफूहरूमाथि आक्रमण गर्ने कोशिस भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नेगरी तयार रहन नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन ।

उनले भने, ‘त्यसकारण, हामी जाइलाग्ने चाहीँ होइन । उनीहरूको आन्दोलनमा गएर आक्रमण गर्ने चाहिँ भन्न मैले खोजेको होइन,’ उनले भने, ‘तर, उनीहरू छाडा भएका छन् ।

छाडा भएर हामीहरूमाथि आक्रमण गर्ने कोशिस गर्दैछन् । यदी उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् । गर्नैपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us