
काठमाण्डू, १८ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत् प्रयोग गर्नु अबको आवश्यकता भएको बताएका छन ।
आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन ।
उनले विद्युत्को प्रयोगले व्यापार घाटा मात्रै नघटाउने भन्दै अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने बताएका छन । पेट्रोल पदार्थको सट्टा विद्युत्बाट नै धेरै कामहरू गर्न सकिने पनि बताएका छन ।
‘पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत् प्रयोग गर्नु अबको आवश्यकता पनि हो । तसर्थ व्यापार घाटामा मात्र होइन, अर्थतन्त्रमा पनि यसले सकारात्मक प्रभाव पार्नेछ, सभापति देउवाले भने, ‘त्यसैले पेट्रोल पदार्थको सट्टा विद्युत्बाट नै हामीले धेरै कामहरू गर्नसक्छौँ । विद्युतीय सवारीहरू बढाउनुपर्छ ।
अरु धेरै कुराहरू गर्न सकिन्छ ।’ सभापति देउवाले विद्युतीय सवारीहरुको प्रयोग बढाउनुपर्ने र विद्युतीय सभाग्रीहरु पनि बढी उपयोग गर्न जरुरी रहेको पनि बताए । यसले जलवायु परिवर्तनका असर न्युनिकरणमा मद्दत पुग्ने देउवाको भनाइ छ ।