त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

काठमाण्डु टुडे २०८० मंसिर २४ गते १२:४४ मा प्रकाशित

काठमाण्डु,२४ मंसिर– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद गरेको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो ।

सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिएका छन ।

उनले भने, ‘शंकास्पद लागेपछि चेकजाँच गर्ने क्रममा भन्सार एरिया कटेपछि उनलाई पक्राउ गरिएको हो ।’ क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा प्रहरीले इजिप्टका ती नागरिकसँग संलग्न भएको आशंकामा थप दुई सुडानी नागरिकहरुलाई पनि पक्राउ गरेको छ ।

यद्यपि, उनीहरुले आफ्नो संलग्नता रहेको भने स्वीकारेका छैनन् । विगतमा यूएई हुँदै नेपालमार्फत भारतमा तस्करी हुने सुनमा पनि सुडानी नागरिकको संलग्नता देखिँदै आएको छ । सुनसहित समातिएका इजिप्टका नागरिक फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत ११ः५१ मा काठमाडौं अवतरण गरेका थिए ।

यही विमानमार्फत गोरखाका चन्द्र घले १४ किलो सुनसहित बिहीबार ११ः४० बजे अवतरण गरेका थिए । विमानस्थल भन्सार कार्यालयले विशेष सूचनाका आधारमा घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो । शनिबार राति सोही विमानमा आएका व्यक्तिलाई शंका लागेपछि निगरानी गर्ने क्रममा पक्राउ गरिएको डीआईजी चन्दले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us