
काठमाण्डु, २१ मंसिर– नेपालबाट चोरेर अमेरिकामा बेचिएका दुई ऐतिहासिक मुर्ति नेपाल फिर्ता ल्याइएको छ ।
प्रस्तरको श्रीधर विष्णुको मूर्ति र काठको साँघुमाथि उभिएको योगासन मुद्राको नारी मूर्ति रहेको टुँडाल फिर्ता ल्याइएको हो । ती दुवै मुर्ति पुरातत्व विभागको जिम्मा लगाइएको छ । विभागका अनुसार ११औं शताब्दीको श्रीधर विष्णुको मूर्ति ललितपुरको बुङ्मतीस्थित कोटाटोलको बाहिली हिटीबाट सन् १९८० को दशकमा हराएको थियो ।
१४ औं शताब्दीको साँघुमाथि उभिएको योगासन मुद्राको नारी मूर्ति अंकित काष्ठ टुँडाल पाटन दरबार स्क्वायर क्षेत्रबाट चोरी भएको थियो । पुरातत्व विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाको न्यूयोर्कस्थित द मेट्रोपोलिटन म्युजियम अफ आर्टमा पुगेका मुर्तिको उत्पत्तिस्थल नेपाल भएको प्रमाण बुझाएपछि
म्युजियमले नेपाल फिर्ता पठाएको उल्लेख छ ।
म्युजियमका वरिष्ठ कलाविद् जोन स्ट्यानली गे मुर्ति बुझाउन बुधबार आफैं नेपाल आएको विभागले जानकारी दिएको छ । विभिन्न समयमा नेपालबाट हराएका पुरातात्विक महत्वका सम्पदाहरु फिर्ता आउन थालेको र अमेरिकाबाट मात्र ७० भन्दा बढी सम्पदा फिर्ता आएको विभागले जनाएको छ ।
अमेरिकासहित बेलायत, अष्ट्रिया, चीन, भारत, जर्मनी, अष्ट्रेलिया र इटालीबाट गरी कुल १ सय ४३ थान मुर्ति तथा कलावस्तु फिर्ताको पहल भइसकेको विभागले विज्ञप्तिमार्फत जानकारी दिएको छ । पञ्चायत र त्यसपछि पनि राजपरिवारका शक्तिशाली सदस्यहरुको प्रत्यक्ष संलग्नतामा नेपालका ऐतिहासिक र पुरातात्विम मुर्तिहरु चोरेर विदेशमा बेच्ने गरिएको थियो ।