एनसेल प्रकरणको छानबिनका लागि सशक्त खबरदारी आवश्यक छ: गगन थापा

काठमाण्डु टुडे २०८० मंसिर २१ गते १८:१७ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– कांग्रेस महामन्त्री गगन थापाले एनसेल खरिद बिक्री प्रकरणको छानबिनका लागि सशक्त खबरदारी आवश्यक रहेको बताएका छन । उनले एनसेलको खरिद बिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमा ठुलो अनियमितता भएको सहजै अनुमान लगाउन सकिने बताएका छन ।

आज (बिहिबार) सामाजिक सञ्चालनमा उनले लेखेका छन्, ‘तत्कालै यो प्रकरणमा विभिन्न तहबाट प्रश्न उठेकै छन्। संसदीय समितिमा, गठबन्धन दलका बैठकमा, पार्टीभित्र बाहिर सबैतिर।

सरकारले समिति बनाएको छ भने सार्वजनिक लेखा समितिले ‘समग्र प्रक्रियामा अनुसन्धान गर्नुपर्ने देखिएकाले त्यो पूरा नहुन्जेल शेयर बिक्रीको प्रक्रियालाई रोक्न निर्देशन’ दिएको छ। तर, समिति बन्यो सबै ठिक हुन्छ भन्ने अवस्था छैन ।’ उनले लेखेका छन, ‘कानुनको छिद्र दुरुपयोग गरेर खरिदबिक्री गरेको प्रस्ट देखिएको भन्दै यसमा बदनियत रहेको उनको भनाइ छ ।

‘किनकि पहिला पनि पटक पटक यस्तो गरेका दृष्टान्त छन्। राजनीतिक र प्रशासनिक नेतृत्व मध्ये कसैको साथ र आश्वासन नपाईकन यत्रो अनियमितताको हिम्मत आउँदैन। जसको आडमा यो भएको छ र जो प्रत्यक्ष परोक्ष संलग्न छन् अहिले हुने छानबिन प्रभावित गर्न उनीहरू लाग्ने नै छन् ।’ उनले एनसेल प्रकरणको छानबिन प्रभावित पार्न खोज्नेहरूलाई असफल बनाउने सबैले प्रतिरोध गर्नुपर्ने बताएका छन ।

उनले भनेका छन, ‘यो प्रकरणमा जो जहाँ बसेर प्रतिरोध गरिरहेका छौँ, हाम्रो प्रयासलाई एकीकृत बनाउने हो, जसरी विगतमा प्रतिरोध गरेका थियौँ, कोहीले सरकार भित्रैबाट कोहीले संसदमा, कोहीले सडकबाट ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us