एनसेलको सेयर बिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

काठमाण्डु टुडे २०८० मंसिर २१ गते १७:३६ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– उच्च अदालत पाटनले एनसेलको सेयर खरिद विक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न भनी आदेश दिएको छ । विपक्षी बनाइएका कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा सेयरको अभिलेखीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा एनसेलको सेयर खरिद बिक्री भएको भए पनि त्यस्तो खरिद बिक्रीको अभिलेखीकरण र सेयर नामसारी नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि यिनै निवेदक रोकायाले दायर गरेको एनसेलको सेयर बिक्रीसम्बन्धी रिटमा अदालतले आगामी मङ्सिर २५ गतेका लागि अन्तरिम आदेश छलफलका लागि बोलाएको थियो । यस रिटमा पनि मङ्सिर २५ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशको निरन्तरताका लागि छलफलमा बोलाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us