टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा कान्तिपुरका पत्रकारमाथि मुक्का प्रहार

काठमाण्डु टुडे २०८० मंसिर २१ गते १४:१७ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपले पत्रकार कुटेका छन् ।

रायमाझीले बुधबार काठमाण्डु जिल्ला अदालत परिसरमा कान्तिपुर टेलिभिजनका पत्रकार सञ्जय लुइँटेलमाथि मुक्का प्रहार गरेका हुन् । उच्च अदालत पाटनले केही दिनअघि सन्दीपलाई भुटानी शरणार्थी प्रकरणमा ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रहरीले उनलाई बैंक ग्यारेण्टी बुझाउने क्रममा अदालत ल्याएको थियो । अदालतबाट प्रहरीको गाडीमा बाहिरिने क्रममा दृष्य छायाँकन गरिरहेका लुइँटेलमाथि सन्दीपले मुक्का हानेका हुन् । मुक्का प्रहारबाट लुइँटेलको गालामा चोट लागेको छ भने क्यामेराको बुम माइक फुटेको छ ।

भुटानी प्रकरणमा धरौटीमा रिहा भए पनि सन्दीपमाथि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us