
काठमाण्डु, २० मंसिर– एमाले सचिव योगेश भट्टराईले साढे ६ अर्बमा सरकारले नै एनसेलको शेयर खरिद गर्न सुझाव दिएका छन् । आज बुधवार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै प्रतिनिधि सभाका सदस्य समेत रहेका संसद भट्टराई यस्तो सुझाव दिएका हुन ।
भट्टराईले एनसेलको ८० प्रतिशत शेयर ६ अर्बमा बिक्री भएको कुरा शङ्कास्पद रहेको बताउँदै यदि कम्पनी टाट पल्टिएको हो भने बिक्री भएको भनिएको मूल्यमा ५० करोड थपेर सरकारले खरिद गर्नुपर्ने उनले बताएका छन ।
उनले एनसेल कम्पनीका लागि नेपालका बैंकले ४० अरब भन्दा बढी लगानी गरेको बताउँदै सो कम्पनीले यसरी शेयर बेच्दै आफू घाटामा भएको, डुबेको घोषणा गरे नेपालको बैंक डुब्ने र बैंक डुब्दा नेपाली जनता डुब्ने उनले बताएका छन ।
उनले भने, ‘यदि कम्पनी टाट पल्टेको छ भने ६ अर्ब हैन त्यसमा ५० करोड थपेर सरकारले नै किनौँ । त्यसलाई नेपाल टेलिकम मोडलमा सञ्चालन गरौँ । हाम्रा कानुन प्रस्ट छैनन् भने कानुन प्रस्ट बनाऔँ ।’
सांसद भट्टराईले भारतको भोडाफोनको विवादमा कानुन नभएकोले सरकारले पश्चदर्शी कानुन बनाएर लिनुपर्ने सबै रकम लिएको बताएका छन । उनले अर्को निर्णय नभएसम्मका लागि एनसेलको शेयर बिक्री रोक्न सरकारलाई निर्देशन दिनुपर्ने बताएका छन ।