बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

काठमाण्डु टुडे २०८० मंसिर २० गते १६:१९ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेको पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनले तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि मंसिर २८ गतेको पेसी तोकेको छ ।

बालकृष्ण खाणसँग धरौट माग गर्ने कि थुनामै पठाउने भन्ने सम्बन्धमा दुई न्यायाधीशको राय बाझिएपछि उनको निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिएका छन ।

१५ मंसिरमा भएको आदेशमा उच्च अदालत पाटनले ९ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाण्डु जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो । त्यसैगरी ६ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाण्डु जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो ।

त्यसैगरी लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंक कुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमै रिहा गर्ने आदेश दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us