एनसेल प्रकरणमा कडा कारवाही गर्न सत्ता गठबन्धन एकमत छन्ः अग्नि सापकोटा

काठमाण्डु टुडे २०८० मंसिर २० गते १५:४२ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजी र रहस्यमय भएको दाबी गरेका छन ।

उनले गठबन्धन दल र सरकारले अध्ययन गरेर निस्कने निष्कर्षअनुसार एनसेल खरिद विक्री प्रकरणमा कारवाही हुने बताएका छन । आज भक्तपुरमा बुधबार आयोजित सञ्चार–संवाद कार्यक्रममा प्रवक्ता सापकोटाले यस्तो बताएका हुन ।

उनले सत्तारुढ दलहरूले एनसेल प्रकरणलाई अस्वाभाविक मानेर एक शक्तिशाली छानविन समिति गठन गर्ने निर्णय गरेको पनि बताएका छन । उनले भने, ‘एनसेलको शेयर खरिदबिक्री नै शंकास्पद, रहस्यमय र मुलुकलाई घाटा पार्ने खालको भएकाले यसलाई छानविन गरेर कडाइकासाथ कारवाही गर्नुपर्दछ, सरकार यस विषयमा कुनै द्विविधामा छैन ।’ उनले नामै नलिइकन दुर्गा प्रसाईंको आन्दोलनलाई लक्ष्य गर्दै भने, ‘हाल सडकमा देखिएको गतिविधि अराजक हो ।

यसलाई नियन्त्रण गर्न राजनीतिक दलहरू सचेत रहनु पर्दछ ।’ प्रवक्ता सापकोटाले नेपाली जनताको ठूलो त्याग र तपस्याबाट स्थापित गणतन्त्र, धर्मनिरपेक्ष, संघीयता र समानुपातिक पद्धति लोकतन्त्रको चार स्तम्भ भएकाले यसलाई कसैले हल्लाउँदैमा नहल्ने बताएका छन । उनले भने, ‘इतिहासको चक्का किमार्थ पछाडि फर्किंदैन्, फर्केको हेर्न पनि चाहन्न, लोकतन्त्रलाई विस्थापित गर्छु भनेर लाग्नु मृगतृष्णा हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us