श्रीमान हत्याको आरोपमा श्रीमती पक्राउ

काठमाण्डु टुडे २०८० मंसिर २० गते १४:४७ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– प्रहरीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमानको हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–५ दमौटी बस्ने ४० वर्षीया निरकुमारी राईलाई रहेकी छन । जिल्ला प्रहरी कार्यालयका अनुसार ६० वर्षका श्याम राईको हत्या आरोपमा उनकी पत्नी निरकुमारी राईलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

निरकुमारीले श्रीमानको शव नजिकैको झाडीमा स्याउलाले छोपेर राखेको अवस्थामा मङ्गलबार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान सुरु गर्दा नै हत्याको कसुरमा संलग्न भएको प्रमाणसहित निरकुमारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिएका छन ।

प्रारम्भिक अनुसन्धानका क्रममा निरकुमारीले श्यामको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी जनाएको छ । श्रीमान् दैनिक मादक पदार्थ सेवन गरेर घर आउने र घरमा झगडा गर्ने गरेका कारण आफूले सहन गर्न नसकी हत्या गरेको निरकुमारीले बताएको प्रहरीको भनाइ छ । हत्यामा अन्य व्यक्ति पनि संलग्न रहे नरहेका विषयमा पनि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us