पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ: देउवा

काठमाण्डु टुडे २०८० मंसिर १९ गते १८:२५ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– पूर्व प्रधनमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भए ०८४ को चुनावमा बहुमत आउने दाबी गरेका छन । आज मंगलबार ओखलढुंगामा कांग्रेसको जिल्ला सम्मेलन तथा बीपी स्मृति भवन उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन ।

उनले अहिलेको निर्वाचन प्रणालीअनुसार एकल बहुमत ल्याउन पार्टीलाई मुस्किल पर्ने पनि बताएका छन । उनले भने, ‘अहिले हाम्रो पार्टीको मात्रै सरकार बन्ने अवस्था छैन । एउटा पार्टीको मात्र बहुमत ल्याउन अलि गाह्रो छ । तैपनि पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ ।’

उनले बहुमत ल्याए कांग्रेसले चाहे जसरी काम गर्न सकिने पनि बताएका छन । देउवाले संघीयता कार्यान्वयनमा जोड दिए । उनले भने, ‘हाम्रो देश संघीयतामा गइसकेको छ ।

यो संघीयतालाई हामीले राम्रोसँग चलायौँ भने हाम्रो देशको विकास हुन सक्छ, आदिवासी–जनजाति, महिला सबैको प्रतिनिधित्व हुने गरी हामीले संविधान पनि बनाएका छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us