
काठमाण्डु, १६ मंसिर– धुलिखेलस्थित काठमाण्डु विश्वविद्यालय केयू परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट चल्ने बताइएको छ । विश्वविद्यालयअन्तर्गत ग्रीन हाइड्रोजन ल्याबले परीक्षण प्रयोजनका लागि केही दिनअघि मात्रै उक्त गाडी नेपाल भित्र्याएको छ । गाडी आइपुगेको करिब तीन साता भइसके पनि इन्धनका कारण अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।
केयूले निर्माण गरेको हाइड्रोजन फ्युल स्टेशन अन्तिम चरणमा छ । यही मङ्सिर मसान्तसम्म उक्त स्टेशन सञ्चालनमा आउने र त्यसपछि नेपालमा पहिलो पटक हाइड्रोजन फ्युल सेलमा आधारित सवारीसाधन सञ्चालन हुने ल्याएको केयूका उपप्राध्यापक तथा ल्याबका प्रमुख डा। विराजसिंह थापाले जानकारी दिएका छन । हाइड्रोजन गाडी नेपाल भित्रिए पनि कानुन अभावका कारण दर्ता नहुने देखिएको छ ।
नेपालको कानुनले हाइड्रोजन इन्धनमा आधारित सवारी साधनलाई नचिन्ने भएकाले दर्तामा अन्योल सिर्जना भएको डा थापाले जानकारी दिएका छन । उनले भने, ‘नेपालको कानुनले हालसम्म पेट्रोल, डिजेल र ब्याट्रीबाट चल्ने गाडी मात्रै दर्ता गर्नसक्ने व्यवस्था गरेको छ । त्यसैले कानुनी व्यवस्था नभएसम्म यसलाई दर्ता गर्न मिल्दैन, ‘कानुनी व्यवस्था नभएसम्म विश्वविद्यालयको अनुसन्धान कार्यका रुपमा मात्रै यो गाडी प्रयोग गर्छौँ ।’
हाइड्रोजन गाडी ल्याउनुको प्रमुख उद्देश्य विश्वविद्यालयले तयार गरेको फ्युल स्टेशनको अनुसन्धान गर्नु रहेको उनले बताएका छन । हाइड्रोजन गाडीको ‘डेमोस्ट्रेसन’ले हाइड्रोजनको उपयोग र महत्वबारे थप प्रष्ट पार्न सहयोग पुग्ने अनुसन्धान टोलीको विश्वास छ । ल्याब प्रमुख थापा भन्छन्, ‘हामीले तीन वर्षदेखि हाइड्रोजनबारे अनुसन्धान गर्यौं, हामीले बनाएको इन्धनबाट गाडी चलेपछि यसको महसुस जनताले गर्न सक्छन्, त्यतिमात्रै नभएर हाइड्रोजनको उपयोगसम्बन्धी कानुन निर्माणमा समेत यसले सकारात्मक भूमिका निर्वाह गर्न सक्छ ।’
अहिलेसम्म केयूको ल्याबले पेट्रोल गाडीलाई विद्युतीय बनाउनेदेखि नेपालमै उत्पादित हाइड्रोजन इन्धनबाट खाना पकाएर देखाएको छ । ल्याबमा पाँच जना विद्यावारिधिसहित २२ जना अनुसन्धानकर्ताले काम गर्दै आएका छन् ।