
काठमाण्डू, २६ वैशाख– एमाले सांसद चन्द्रबहादुर विश्वकर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि मौन प्रतिक्रिया दिएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि बोल्ने समय थियो ।
सभामुखले बोलाएपछि उनी रोस्ट्रममा गए । नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको स्मरण गरे । त्यसमाथि संसद्मा प्रतिक्रिया दिने क्रम चलिरहेको बताए ।
आफू पनि रोस्ट्रममा नीति तथा कार्यक्रममाथि प्रतिक्रिया दिन उपस्थित भएको बताए । त्यसपछि मौन रहे । उनलाई ५ मिनेटको समय दिइएको थियो । समय सकिन लागेपछि ‘सभामुख महोदय समयका लागि धन्यवाद’ भनेर बिदा भए । विश्वकर्मा रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी एमालेबाट समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् ।
विश्वकर्मा माओवादी पृष्ठभूमिका नेता हुन् । उनी माओवादीबाट दलित मुक्ति मोर्चाका कर्णाली प्रदेश इन्चार्जसमेत बनेका थिए । २३ फागुन २०७७ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता भंग गरिदिएपछि विश्वकर्मा एमाले प्रवेश गरेका हुन् । ४ मंसिर २०७९ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार थिए ।
यही निर्वाचन प्रणाली अन्तर्गत उनी निर्वाचित भएका हुन् । सांसद विश्वकर्माले विगतका वर्षहरूमा भने सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि भाग लिने गरेका थिए । उनी सांसदको सुझाव कार्यान्वयन कम हुने गरेको भनेर असन्तुष्टि जनाउने गर्दथे ।
अघिल्लो वर्ष २९ जेठ २०८१ मा उनी प्रतिनिधि सभाको बैठकमा बोलेका थिए । त्यसबेला उनले संविधान कार्यान्वयन गर्ने विषय सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका थिए ।