एमाले नेता ऐन महर मुछिएको अडियो सामाजिक सञ्जालमा छताछुल्ल

काठमाण्डु टुडे २०८० मंसिर १५ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– एमाले नेता तथा केन्द्रीय सदस्य ऐन महर जोडिएको एक अडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । एक जना महिला र महरको बिचमा भएको भनिएको ‘यौन सम्बन्धी विवाद’ सामाजिक सञ्जालमार्फत बाहिर आएको हो ।

आफूसँग सबन्धमा रहेकी महिलाले ‘बर्बाद पार्छु’ भनेपछि ऐन महरले परिस्थितिलाई साम्य बनाउन सो संवाद गरेको देखिन्छ । सार्वजनिक अडियोमा महरले अडियोमा ती महिलासँग सम्बन्ध रहेको तर, आगामी दिनमा परिवारसँग मिलेर बस्न र ‘डिभोर्स’ नगर्न अनुरोध गरेका छन ।

संवादको बिचमा अडियो रेकर्ड गरेकोबारे महिलालाई शंका गरेका महरले ती महिलाले आफूलाई प्रयोग गर्न खोजेको आरोप लगाएको अडियोमा सुनिएको छ । महिलाले दुई जनाको बिचमा शारीरिक सम्पर्क भएपछि आवश्यक औषधी किन्न महरले आनाकानी गरेको भन्दै आक्रोश पोखेकी छन् । सो अडियोबारे आफूले सामाजिक सञ्जालबाट नै थाहा पाएको एमालेका केन्द्रीय सदस्य ऐन महरले जानकारी दिएका छन ।

उनले सार्वजनिक अडियो फेक भएको पनि बताएका छन । अनेरास्ववियुका पूर्व अध्यक्ष महरले आफ्नो विरुद्ध लागेकाहरूले योजनाबद्ध रूपमा नक्कली अडियो बाहिर ल्याएको भन्दै कानुनी उपचारमा लाग्ने बताएका छन् ।

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका थिए । करिब ८ मिनेटको सो अडियोमा महिलाले घटना सार्वजनिक गर्न खोजेपछि ऐनले दबाब र धम्की दिएको आरोप लगाइएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us