त्रिपालमुनि बसेका भूकम्प पीडितलाई छानामुनि ल्याइन्छः श्रेष्ठ

काठमाण्डु टुडे २०८० मंसिर १४ गते १७:५३ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिपालमुनि रहेका जाजरकोटका भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकारले काम गरिरहेको बताएका छन् ।

राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा बिहीबर श्रेष्ठले अस्थायी आवास निर्माणका लागि मन्त्रिपरिषदले सबै सुरक्षा निकाय परिचालन गर्ने निर्णय गरेको जानकारी दिए ।

चिसो याममा त्रिपालमुनि बसेका भूकम्पपीडित थप समस्यामा नपरुन् भनेर सरकारले न सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई अस्थायी आवास निर्माणमा खटाउने निर्णय गरेको बताए ।

सम्बन्धित जिल्लास्थित जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षा अङ्गलाई आवश्यकतानुसार परिचालित गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले थप जनशक्ति आवश्यक परे उपलब्ध गराउन सरकार तयार रहेको प्रतिबद्धता जनाए ।

सरकारले तत्कालै तीन चरणको काम अघि बढाएको उल्लेख गर्दै उद्धार, राहत र आवास पुनः निर्माणलाई प्राथमिकतामा राखिएको श्रेष्ठले बताए ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा जाजरकोटमा एक सय एक र रुकुम पश्चिममा ५३ गरी कुल एक सय ५४ जनाको मृत्यु भएको थियो ।

समितिले त्रिपालमुनि बसेका केही भूकम्प पीडितको चिसोका कारण मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us