
काठमाण्डु, १४ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल चढेकै जहाजमा दुबई जान विमानस्थल पुगेर पनि रोकिएका यात्रुलाई आजै गन्तव्यतर्फ लगिने भएको छ ।
नेपाल वायु सेवाको जहाजले बुधबार राति ३१ यात्रु छाडेर उडेको थियो । निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कूल २ सय ७४ मध्ये छुटेका यात्रुलाई बिहीबारै दुबई लगिने जनाएको छ । निगम व्यवस्थापनले उनीहरुलाई काठमाण्डुस्थित एक होटलमा राखेको थियो ।
साढे ११ बजे उड्ने नियमित तालिका भए पनि दुई घण्टा अघि उडान सारिएको सूचना टिकट लिएका यात्रुको मोबाइल नम्बर, इमेल र ट्राभल एजेन्सीमार्फत खबर गर्दा पनि ३१ यात्रुले थाहा नपाएको दाबी निगमको छ ।
‘काठमाण्डु–दुबईको उडान नम्बर आरए २९९ को नियमित उडान समय रिसेड्युल भई २१ः ३० बजे राखिएको र यात्रुहरूको उपलब्ध भएको इमेल, फोन र ट्राभल एजेन्सीमार्फत् सेड्युल परिवर्तन भएको जानकारी गराइएकोमा २७४ यात्रुमध्ये केही यात्रुहरू उक्त उडानमा छुट हुन गएको पाइएकाले यसबाट यात्रु महानुभावहरूमा पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै आज मिति ३० नोभेम्बर २०२३ मा उपलब्ध वैकल्पिक उडानबाट सबै यात्रुहरूलाई गन्तव्यमा पुर्याउने प्रबन्ध मिलाइएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
यसैबीच उक्त प्रकरण छानबिन गर्न निगमको वाणिज्य विभाग प्रमुखलाई निर्देशन दिइसकिएको समेत विज्ञप्तिमा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बुधबार राति साढे ९ बजे राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा सहभागी हुन नेपाल वायु सेवाको नियमित उडानमार्फत दुबई गएका थिए ।