पूर्वराजा लक्षित प्रचण्डको चेतावनीः नारायणहिटीमा आफ्नै वंश बिनाश गर्नेले सॅाच्चै निहॅु खोजेको हो त ?

काठमाण्डु टुडे २०८० मंसिर १ गते १८:२८ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणहिटीमा आफ्नै वंश विनाश गर्नेहरु संस्कारका कुरा गर्ने ? भन्दै प्रश्न गरेका छन् ।

आज शुक्रबार तनहुँमा आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रश्न गरेका हुन । उनले परिवर्तन र जनताको अधिकार मन नपराउनेहरुले संस्कारको कुरा गरेको पनि बताएका छन ।

पर्व राजालाई लक्षित गर्दै उनले भने, ‘जसले कहिले कोतपर्व, कहिले भण्डारखालपर्व कहिले नाराणहिटीपर्व हामीले देखेको होइन त्यो ? ती मान्छेहरु आजकल संस्कारको कुरा गर्छन् । ती हो संस्कार ? कोतपर्व, भण्डारखालपर्व, नारायणहिटीमा आफ्नै वंश विनाश गर्नेहरु संस्कारका कुरा गर्ने ? लोकतन्त्रवादीहरुलाई, परिवर्तनकारी शक्तिहरुलाई ? ।

उनले केही मानिसले साँच्चै जनता र राष्ट्र, लोकतान्त्रिक प्रणालीविरुद्ध आवाज उठाउने दुस्साहस गरिरहेको पनि बताएका छन । उनले आज सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका भन्दै साँच्चै हो त ? खोजेकै हो त ? भन्ने स्थिति बनेको बताएका छन ।

यस्तै , प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन पाँचै वर्ष चल्ने र कसैले हल्लाएर हल्लिन नसक्ने जिकिर गरे । आफू प्रधानमन्त्री बन्दा १५ दिन, एक महिना भए पनि राष्ट्रको पक्षमा काम गर्ने अठोट लिएको र अहिले ११ महिना सरकार चलिरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रक्रिया अझै चलिरहेको भन्दै प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन छिटै कार्यान्वयनमा आउने जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us