अरूले कसैले आँट गरेनन्, मैले पृथ्वी जयन्तीका बिदा दिएँ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० कार्तिक २३ गते १७:३१ मा प्रकाशित

 काठमाण्डु, २३ कातिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरू कुनै पनि प्रधानमन्त्रीले पृथ्वी जयन्तीका दिन बिदा दिने हिम्त नगरेको र आफूले गरेको दाबी गरेका छन् ।

साथै प्रधानमन्त्री प्रचण्डले नेपालमा पृथ्वीनारायण शाहको एकता अभियानपछिको ठुलो कर्म जनयुद्ध भएको पनि दाबी गरेका छन ।

आज (बिहीबार) पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘मानिसहरूलाई प्रचण्डले के गर्यो भन्ने पनि लाग्छ ।

तर नेपाली इतिहासमा त्यो (पृथ्वीनारायण शाहको नेतृत्वको अभियान) एउटा ऐतिहासिक परिघटना थियो ।

जसले आधुनिक नेपाल निर्माणको प्रक्रियामा एउटा ‘माइलस्टोन’को भूमिका खेल्यो, ऐतिहासिक भौतिकवादी हुनुको नाताले भौतिक ढङ्गले त्यसलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो भन्ठानेर बिदा दिएको हुँ ।’

उनले जनयुद्धको इतिहासलाई कतिपयले दबाउन खोजे पनि कसैले दबाउन नसक्ने पनि बताएका छन । प्रचण्डले सरकारले जनयुद्ध दिवसमा दिएको बिदाप्रति टिप्पणी भए पनि त्यसको औचित्य नरहेको पनि बताएका छन ।

उनले भने, ‘नेपालको इतिहासमा पृथ्वीनारायण शाहको एक खालको कर्मपछिको ठुलो कर्म नेपाली जनताले ल्याएको जनयुद्ध नै हो, ‘त्यसलाई अहिले जति दबाउन खोजे पनि इतिहासमा पटक पटक उठिराख्छ ।

त्यो चिहानबाट फेरि उठ्छ ।’ उनले हजारौँ मान्छेहरूले आफूखुसी बलिदान दिएको आन्दोलनलाई कसैले एक छिन दबाउन खोजे पनि त्यो उठ्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us