मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारी विरुद्ध महिला आयोगमा उजुरी

काठमाण्डु टुडे २०८० कार्तिक २२ गते १८:०८ मा प्रकाशित

काठमाण्डु, २२ कातिक– आफूलाई पत्नीको रुपमा स्वीकार गर्न इन्कार गरेको र उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै बरिष्ठ अधिवक्ता डा.सुरेन्द्रराज भण्डारी विरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ ।

कानुन व्यवसायी समेत रहेकी जानकी पाण्डेले मंगलबार आयोगमा उजुरी हालेकी हुन । उनले भण्डारीमाथि सुरक्षा निगरानी गर्न र आफ्नो, सन्तान तथा नातेदारको जिउज्यानको सुरक्षा गर्न आग्रह गरेकी छन ।

१९ माघ २०७४ मा आफूहरुबीच सामाजिक परम्परा अनुसार विहे भएको, त्यसपछि एकसाथ बस्दै आएको तर पछिल्लो समय पटकपटक विवाह दर्ताका लागि अनुरोध गर्दा भण्डारीले इन्कार गरेको उजुरीमा उल्लेख गरीएको छ ।

बीचमा वरिष्ठ अधिवक्ता भण्डारीले विवाह दर्ताको फारम भरेर हस्ताक्षर समेत गरेको तर वडा कार्यालयमा सनाखत गर्न नगएको, त्यसपछि दुवै पक्षले सनाखत नगरेको भन्दै वडाले विहे दर्ता गर्न अस्वीकार गरेको उजुरीमा उल्लेख गरीएको छ ।

ज्यानमार्ने धम्की आएपछि जानकीले आफूले शान्ति सुरक्षाको माग गरी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको उजुरीमा उल्लेख गरीएको छ ।

छानबिनका सिलसिलामा जिल्ला प्रहरी परिसरले बोलाउँदा समेत वरिष्ठ अधिवक्ता भण्डारी प्रहरी कार्यालयमा नगएको उजुरीमा उल्लेख छ ।

६ वर्षदेखि आफूहरु पतिपत्नीको रुपमा रहेको, विभिन्न निकाय तथा अन्य कामका सिलसिलामा प्रयोग भएका कागजातमा पतिपत्नीका रुपमा आफूहरुको नाम समावेश भएको तर विवाहदर्ता नगरिदिएको उजुरीमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us