जाजरकोट भूकम्पः पराकम्प नभई नयाँ भूकम्प भएको केन्द्रको भनाइ

काठमाण्डु टुडे २०८० कार्तिक १९ गते ८:११ मा प्रकाशित

जाजरकोट, १९ कात्तिक– राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली भूकम्पको केन्द्रबिन्दु जाजरकोट पुगेको छ ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीसहितको टोली भूकम्पको थप अध्ययन एवं अनुसन्धानका लागि जाजरकोट पुगेको हो । विभागका महानिर्देशक रामप्रसाद घिमिरेले टोलीले भूकम्पबारे समग्र अध्ययन तथा अनुसन्धान गर्ने बताए ।

टोलीले भूकम्पको गहिरार्र्इ, क्षति पुगेको दिशा, कस्ता घरमा क्षति पुगेको भन्न जस्ता विषयमा अध्ययन गर्ने घिमिरेले जानकारी दिए । जाजरकोट भूकम्प बझाङ परकम्प नभई नयाँ भूकम्प भएको पनि केन्द्रले जनाएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

यस्तै सोही स्थान केन्द्रबिन्दु भएर राति १२ बजेर ८ मिनेटमा ४ दशमलब ५, १२ बजेर २९ मिनेटमा ४ दशमलब २, १२ बजेर ३५ मिनेटमा ४ दशमलब ३ र शनिबार दिउँसो ३ बनेर ४० मिनेटमा ४ दशमलब २ रेक्टरस्केलको पराकम्प गएको थियो ।

भूकम्पमा परी जाजरकोटमा १ सय ४ र रुकुमपश्चिममा ५३ जनाको ज्यान गएको छ । दुई सयभन्दा बढी घाइते छन् । घाइतेमध्ये गम्भीर अवस्थाका ८ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भेरी अस्पताल बाँके, प्रदेशिक अस्पताल सुर्खेत तथा जाजरकोट र रुकुमपश्चिमका जिल्ला तथा स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us