आफू चढेको हेलिकोप्टर घाइते ओसार्न छाडेर काठमाण्डु फर्कंदै प्रधानमन्त्री

काठमाण्डु टुडे २०८० कार्तिक १८ गते १२:१२ मा प्रकाशित

काठमाण्डु, १८ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफू गएको सैनिक हेलिकप्टर भूकम्पका घाइतेको उद्धारका लागि छाडेर नियमित उडानमा काठमाण्डु फर्कने भएका छन् ।

प्रधानमन्त्री शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा चिकित्सक र औषधिसहित स्वास्थ्य सामग्री लिएर भूकम्पको केन्द्रबिन्दु जाजरकोट गएका थिए ।
जाजरकोटबाट फर्कंदा उनी चढेको हेलिकोप्टरले ७ जना घाइतेलाई सुर्खेत अस्पताल ल्याएको थियो ।

सुर्खेतबाट अर्को भूकम्प प्रावित जिल्ला रुकुमपश्चिमको अवलोकन भ्रमणमा गएका प्रधानमन्त्री फर्कंदा भने नेपाल एयरलाइन्सको नियमित जहाजमा काठमाण्डु आउने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार प्रचण्ड रुकुमको चौरजहारी विमानस्थलबाट नियमित उडानमा काठमाण्डु आउनेछन् भने हेलिकोप्टरले गाउँगाउँबाट घाइते ओसार्नेछ ।

जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएराति ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म १ सय ३२ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । डेढ सयभन्दा बढी घाइते छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us