नेपालमाथि धनी देशबाट अन्याय भएको छः गुटेरेस

काठमाण्डु टुडे २०८० कार्तिक १४ गते १७:४० मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले नेपालले जलवायु परिवर्तनको क्रूर प्रभावको सामना गरिरहेको बताएका छन् ।

संघीय संसदको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले बिना गल्ती जलवायु परिवर्तनको असर पर्नु नेपालका लागि अन्याय भएको बताए ।

जलवायु परिवर्तनको असरबाट प्रभावित समुदायकाप्रति आफू चिन्तित भएको उनको भनाइ थियो । उनले जलवायु परिवर्तनको असरबाट प्रभावित नेपाली समुदायको साथमा राष्ट्रसंघ रहेको बताए ।

‘जलवायु परिवर्तनको परिणामस्वरूप नेपालमा जे भइरहेको छ त्यो डरलाग्दो अन्याय हो’, उनले भने, ‘जलवायु संकटको प्रभाव सामना गरिरहेका नेपालका समुदायहरूप्रति म अति चिन्तित छु ।’

नेपालजस्ता विकासोन्मुख देशहरूका लागि विकसित देशहरुले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । विकसित र धनी मुलुकहरुले गरेको तीव्र विकास र औद्योगीकरणको मार नेपालजस्ता तेश्रो विश्वका मुलुकहरुमा परेको गुटेरेसले स्पष्ट गरे ।

संसारभर जलवायु परिवर्तनको असरबाट प्रभावित मुलुकका लागि वितरण गर्न राष्ट्रसंघले प्रतिवर्ष कम्तिमा पनि ५ खर्ब अमेरिकी डलर रकम छुट्याएको जनाए । विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न विश्वासका सबै मुलुक प्रतिबद्ध हुनुपर्ने उनले जनाए ।

कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्ड भए पनि मनसुन, आँधीबेहरी र पहिरोको जोखिम उच्च हुनुमा जलवायु परिवर्तनको असर प्रमुख कारण रहेको औंल्याए ।

नेपालको हिमालयहरुमा हिउँ पग्लने क्रम तीव्र भएको, हिमतालहरु फुट्ने र हिमपहिरो जाने खतरा रहेको तथा नदीहरुमा पानीको सतह बढेको भन्दै गुटेरेसले चिन्ता व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us