
काठमाण्डु, १२ कात्तिक– एमाले अध्यक्ष केपी ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका छन् ।
ओलीले आफूबारे युट्युबमार्फत अनावश्यक लाञ्छना लगाएको भन्दै प्रसाईंलाई पक्राउ गरी गाली बेइज्जती ऐनअन्तर्गत कारबाही अघि बढाउन प्रचण्डलाई दबाब दिएको दाबी बालुवाटार श्रोतको छ ।
विवादित अभिव्यक्तिका कारण बेलाबेलामा चर्चामा आउने गरेका प्रसाईंले केही दिनअघि ओलीको कम्बोडियामा टेलिकम्युनिकेशन सेक्टरमा २७ सय देखि ३ हजार करोड लगानी रहेको आरोप लगाएका थिए ।
उनले ओलीको अवैध लगानीबारे आफूसँग इथेष्ट प्रमाण रहेको बताएका छन् । तीन वर्षअघि प्रधानमन्त्री भएका बेला ओली कम्बोडिया गएको र त्यही बेला उक्त लगानी गरेको आरोप उनको छ ।
‘एउटा झापातिरकै दुर्गा प्रसाईं भन्नेले मेरोबारेमा नचाहिंदो र अनर्गल आरोप लगाएर हिंडेको छ’, ओलीले प्रधानमन्त्रीलाई भनेको उद्धृत गर्दै श्रोतले भन्यो, ‘त्यसलाई तत्काल पक्राउ गरी कारबाही गर्ने कि नगर्ने ?’ ।
जवाफमा प्रधानमन्त्रीले प्रसाईंलाई पक्रिया पुरा गरेर पक्राउ गरिने बचन ओलीलाई दिएका छन् । कुनैबेला ओली र प्रचण्डलाई घरमै बोलाएर मार्सी चामलको भात खुवाएपछि प्रसाईंको चर्चा चुलिएको थियो ।
सोही कारण उनलाई कतिपयले ‘मार्सी’ उपनाम दिएका छन् । नेकपा बन्नुअघि माओवादीमा रहेका प्रसाईं नेकपा विभाजनपछि भने एमालेमै बसेका थिए । एमालेको सौराहा महाधिवेशनमा ओलीकै प्रस्तावमा उनी पार्टी केन्द्रीय सदस्य भएका थिए । केही महिनाअघि एमालेबाट अगल भएको घोषणा गर्दै उनले नेपाली बचाउ अभियानको घोषणा गरे । त्यसयता प्रसाईं पूर्वराजा ज्ञानेन्द्रसँग नजिक छन् ।
उनले राजतन्त्र पुनस्र्थापनाको अभियान अघि बढाएका छन् । बैंक र वित्तिय संस्थालाई ठगको संज्ञा दिँदै प्रसाईंले २० लाख रुपैयाँसम्मको बैंक ऋण नर्तिन सर्वसाधारणलाई अपिल गर्दै आएका छन् । बैंकरहरुलाई कालो मोसो दल्न उनले कालो मोसो दस्ता नै घोषणा गरेका छन् ।
केही समयअघि राजधानीको एक होटलमा पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा उनीमाथि अज्ञात समूहले कालोमोसो दलेको थियो । प्रसाईंले एमाले नेता महेश बस्नेतको योजनामा आफूलाई युवासंघ कार्यकर्ताले कालोमोसो दलेको आरोप लगाएका छन् ।
त्यसैको बदलामा प्रसाईंले आफ्ना समर्थक प्रयोग गरी झापामा महेश बस्नेत सहभागी कार्यक्रममा डुंढामुडा र गाडी तोडफोड गरेका थिए ।