मुगु, १० कात्तिक– मुगुमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।
जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुमा आमा र दुई छोरा र एक छोरीको शव भेटिएको हो । २८ वर्षीया श्रीदेवी बोहोरा, छोरा ११ वर्षका मनोज र एक वर्षका रहर तथा छोरी सात वर्षकी अप्सरा मृत भेटिएका मुगु प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार चारजनाको शव घरमै फेला परेको हो ।
थापाले जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा टोली पठाइएको बताए । अनुसन्धानका लागि प्रहरीले नेपालगञ्जबाट कुकुर मगाएको छ । प्रहरीले उनीहरुको हत्या भएको आशंका गरेको छ । मृतक सबैको टाउको र घाँटीसहित शरीरका अरु भागमा पनि चोट देखिन्छ ।
श्रीदेवीको शव भान्सा कोठामा र तीन बालबालिकाको शव ओछ्यानमा भेटिएको थियो । बडादसैंका दिन छोराछोरीसहित टीका थाप्न कोटिल्लास्थित माइत गएकी श्रीदेवी ८ कात्तिकमा घर फर्किएको छिमेकीले बताएका छन् ।
शुक्रबार अबेरसम्म उनी र बालबालिकका कोही पनि बाहिर ननिस्किएपछि स्थानीयले बाहिरबाट लगाइएको ताल्चा फुटाएर हेरेका थिए ।
ढोका फुटाउँदा चार जनाको शव विभत्स अवस्थामा भेटिएपछि गाउँलेले प्रहरीमा खबर गरेका थिए । मृतक श्रीदेवीका श्रीमान दीपक वैदेशिक रोजगारीका सिलसिलामा कतार छन् ।