उपप्राध्यापक चलाउने आक्रमणका फरार अभियुक्त पक्राउ

काठमाण्डु टुडे २०८० असोज ११ गते २०:०४ मा प्रकाशित

काठमाण्डु, ११ असोज– त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेमाथिको आक्रमणमा संलग्न एक जना पक्राउ परेका छन् ।

उक्त आक्रमणका फरार आरोपी सयुस श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ । चलाउनेमाथि २०७७ साल असोज २० गते काँग्रेसनिकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमै मरणासन्न हुने गरी कुटेका थिए ।

लामो समय उपचारपछि चलाउनेको स्वास्थ्य केही ठीक भएको छ । चलाउनेमाथिको कुटपिट प्रकरणमा दायर मुद्धा काठमाण्डु जिल्ला अदालतमा विचाराधीन छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी हाल पुर्पक्षका लागि थुनामा रहेका काँग्रेस नेता एवं तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले आक्रमणमा संलग्नहरुमाथिको मुद्धा फिर्ताको प्रक्रिया अघि बढाएका थिए ।

तर, चौतर्फी विरोधपछि त्यतिबेला सरकार पछि हटेको थियो । प्रहरीले आक्रमणमा संलग्न रहेर फरार भएका अन्यको खोजी जारी राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us