
काठमाण्डु, ११ असोज– एमालेको बागमती प्रदेश अध्यक्षका लागि मकवानपुरका कृष्ण दाहाल र रामेछापका कैलाश ढुंगेलबीच मात्र चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
अध्यक्ष केपी ओलीले ढुंगेललाई सर्वसम्मत अध्यक्ष घोषणा गर्न दबाब दिए पनि दाहाल भने पछि हटेका छैनन् । बिहीबार अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको थियो । ओलीको आग्रहमा नुवाकोटका केशवप्रसाद पाण्डेले उम्मेदवारी फिर्ता लिएर ढुंगेललाई सघाउने घोषणा गरेका छन् ।
पाण्डे यसअघि एमाले बागमती प्रदेश अध्यक्ष थिए । सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । श्रेष्ठ र बुढाथोकीको समर्थन दाहाललाई छ ।
बिहान ८ बजेबाट सुरु हुने भनिएको निर्वाचन सहमति प्रयास गर्ने भन्दै साँझ ६ बजेका लागि सारिएको थियो । फेरि सहमति गर्ने भन्दै शुक्रबार बिहान ८ बजेबाट मतदान हुने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।