
काठमाण्डु, ८ असोज– कांग्रेस महामन्त्री गगनकुमार थापाले संघीयता कसैले बोकाइदिएको भारी भन्ने गलत भएको बताएका छन् ।
संघीयता अरुले बोकाएको भारी भन्ने तथ्य ठीक नभएको जनाए । कांग्रेस केन्द्रीय समितिमा धारणा राख्ने क्रममा उनले संघीयता ठीक ढंगले नचलेको सही भए पनि अरुले बोकाएको भारी नभएको उल्लेख गरे । संघीयतामा सुधार गर्नुपर्ने कुरा धेरै भए पनि गलत भन्न नमिल्ने उनको भनाइ थियो ।
नेपालका मूलधारका तत्कालीन राजनीतिक दलहरूमध्ये अधिवेशनबाट निर्णय गरेर एकात्मक राज्य प्रणालीबाट प्रस्थान गरी संघीय लोकतान्त्रिक जनप्रतिनिधिमूलक शासन व्यवस्था कायम गर्ने भनेर निर्णय गर्ने कांग्रेस पहिलो पार्टी भएको उनले स्पष्ट पारे ।
‘संसदबाट बनाउनुपर्ने ४० वटाभन्दा बढी महत्त्वपूर्ण कानुन नबनाएर आफैंले आन्दोलनबाट स्थापित प्रणालीलाई असफल हुने बाटोतिर लिएर गएर हामीले कसलाई दोष दिइरहेका छौं ?’, महामन्त्री भने ।
उनले कांग्रेसले २०८४ को चुनावको चिन्ताभन्दा पनि वर्तमान संविधानभित्र चलिरहेको देशभित्र सामाजिक सदभाव ठीक बनाउन लाग्नुपर्ने धारणा राखे ।
‘यो संविधानभित्र चलिरहेको देशभित्र सामाजिक सदभाव कायम गर्ने जिम्मेवारी कांग्रेसबाहेक अरूले लिन पनि सक्दैन र लिँदा पनि लिँदैन । त्यो जिम्मेवारीबाट अलग भएर हाम्रा छलफलहरू हुन सक्दैनन्’, महामन्त्री थापाले भने ।
उनले संघीय सरकारका मन्त्रीहरूलाई सहभागी गराएर खुलेर छलफल गर्न, समस्याहरू समाधान गर्न, सुझावहरू दिन केन्द्रीय समितिको एउटा बैठक आयोजना गर्नुपर्ने धारणा राखे ।