
काठमाण्डु, ५ असोज– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि चीन भ्रमणमा जाँदैछन् ।
संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका गएका प्रचण्ड न्यूयोर्कबाट सिधै चीन जानेछन् । चिनियाँ समकक्षी ली क्वानको निमन्त्रणामा प्रचण्ड आज चीनको हाङझाव जान लागेका हुन् ।
स्थानीय समयअनुसार राति साढे १ बजे प्रचण्ड नेतृत्वको टोली न्यूयोर्कबाट हाङझाव प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
हाङझावमा प्रचण्ड शनिबारबाट सुरु हुने एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुनेछन् ।
त्यसलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयले बिहीबार प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराएको थियो । जसअनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, समकक्षी ली क्वान र नेशनल कंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्ने छन् ।
यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्द्वारा संयुक्त रूपमा आयोजित नेपाल–चीन लगानी सम्मेलनलाई समेत सम्बोधन गर्नेछन् ।
प्रचण्डले चोङकिङ नगरपालिकास्थित कृषि फर्म र औद्योगिक क्षेत्रको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ ।
प्रचण्डको टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल लगायत छन् ।
बेइजिङबाट ल्हासा पुगेर प्रधानमन्त्री १३ असोजमा स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघीय महासभामा सहभागी हुन ३० भदौमा न्यूयोर्क प्रस्थान गरेका थिए ।