
काठमाण्डु, ३१ भदौ– ६० किलो सुन तस्करीविरुद्धको मुद्धा काठमाण्डु जिल्ला अदालतमा आइतबार दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको उक्त कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।
हाल पक्राउ परी थुनामा रहेका फरार गरी २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । संगठित निवारण ऐन–२०७०, भन्सार ०६४ को दफा ५७ (१) (घ) को १ (ख), नेपाल राष्ट्र बैंक ऐन–२०५८ को दफा ९५ र मुलुकी अपराध संहिता–२०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा दर्ता भएइको न्यौपानेले बताए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले पक्राउ परेका ३२ र फरार १८ गरी ५० जनाविरुद्ध संगठित अपराधमा मुद्धा चलाउन सिफरिसहित प्रतिवेदन बुझाएको थियो ।
गत २ साउन मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भन्सार पास भएर बाहिरिएको ६१ केजी सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । सीआईबीले बुधबार बुझाएको प्रतिवेदनमा सोही समूहले पटकपटक गरी ३ सय ६३ केजीभन्दा बढी सुन तस्करी गरेको उल्लेख थियो ।
सरकारी वकिल कार्यालयले ३६२ केजी ७७८ किलोग्राम सुनको ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बिगो मागदाबी गरेको छ ।