बंगलादेशमा डुंगा डुब्दा आठ जनाको मृत्यु

काठमाण्डु टुडे २०८० साउन २१ गते १५:१२ मा प्रकाशित

एजेन्सी- बंगलादेशमा वनभोज खाएर घर फर्केकाहरू चढेको डुंगा डुब्दा आठ जनाको मृत्यु भएको छ ।

राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शीगञ्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिबार राति डुंगा पल्टिएको नागरिक रक्षा तथा अग्नि नियन्त्रण कार्यालयका ड्युटी अफिसर रफी अल फारुकले बताएका छन् ।

“अहिलेसम्म स्थानीयवासीको सहयोगमा तीन महिला, तीन बालबालिका र दुई जना पुरुषको शव नदीबाट निकालिएको छ,” फारुकले भनेका छन् । खोजमा संलग्न अधिकारीका अनुसार करिब ४६ यात्रु बोकेको डुंगा राति आठ बजे नदीमा बालुवाले भरिएको डुंगासँग ठोक्किएर पल्टिएको थियो ।

नदी किनारमा डुंगा डुबेकाले अधिकांश यात्रु पौडेर ज्यान जोगाउन सफल भएका थिए भने चार जनालाई जीवितै उद्धार गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us