
काठमाण्डु ,२ साउन- नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ सदस्यता विस्तार अभियान चलाउने भएको छ।
मंगलबार पार्टी कार्यालय, सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने र ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कार्ययोजना अघि सारेका हुन।
कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्तुत गरेका हुन्।
उनले भने, ‘कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेछ । ‘क्रियाशील सदस्यताको वितरण वर्षभरि नै गर्नेगरी यसका लागि जिल्ला कार्यसमितिलाई फारम पठाइसकिएको छ। अब इच्छु्क साथीहरूले प्रक्रिया पुरा गरेर पार्टीको क्रियाशील सदस्यता लिन सक्नुहुने छ। कांग्रेसको क्रियाशील सदस्ता वितरण अनलाइनमार्फत् गर्ने कुरालाई हामीले सुरू गर्यौं ।
यसलाई प्रभावकारी बनाउने, संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आकर्षण र गर्न र समाजको विविधता झल्कनेगरी यो वर्षको साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घरघर जाऊँ पार्टी सदस्य बनाऊँ भन्ने अभियान चलाउन अन्तर्गत राष्ट्रिय अभियान सुरू हुने छ,’ उनले भने, ‘केन्द्रीय समिति बैठक अहिले जारी छ। केन्द्रीय समितिको बैठक करिब एक साता चल्ने छ।