
काठमाण्डु, १० मंसिर– नेपाल प्रहरीका जवान र हवल्दार दर्जाका कर्मचारीले १६ वर्षमै अवकाशमा जान पाउने भएका छन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा हवलदार, सहायक हवल्दार र जवानलाई १६ वर्षमै अवकाश दिने गरी प्रस्ताव अघि बढाइएको बताए । प्रहरी सहायक निरीक्षक (असई) र नायब निरीक्षक (सई) का हकमा भने १८ वर्षमा अवकाशमा जाने पाउने प्रावधान राखिने श्रेष्ठले बताए । तर, सेवा अवधि नसकिँदै त्यसरी अवकाशमा जाने प्रहरी कर्मचारीले पेन्सन भने सेवा प्रवेश गरेको २० वर्षपछि मात्र पाउने छन् ।
‘१६ वर्ष सेवा अवधि पुगेका जवान, सहायक हवल्दार र हवल्दार सम्मलाई २० वर्षमा पेन्सन लिने गरी १६ वर्ष सेवा अवधि पुगेपछि रिटायरमेन्ट दिने । १८ वर्ष सेवाअवधि पुगेपछि असई र सईहरूलाई रिटायरमेन्ट दिने र २० वर्ष पुग्दा पेन्सन दिने व्यवस्था लागू गर्ने बारेमा गृहमन्त्रालयले आफ्नो तर्फबाट यसअघि नै प्रस्ताव सरकारको अन्य सम्बन्धित मन्त्रालयमा पठाइसकेको छ,’ श्रेष्ठले भने ।
वर्षौंसम्म एकै पदमा काम गर्दा वृत्ति विकास राम्रो नहुने भएकाले सेवा अवधि सकिँदै जागिर छाड्न चाहनेका लागि लचिलो व्यवस्था गर्न लागिएको उनको भनाइ थियो । अधिकृत स्तरमा एसएसपीबाट अिडाईजी भएको ९ महिनामै प्रहरी महानिरीक्षक हुने तर तल्लो तहकाहरु १८÷१९ सम्म एकै दर्जामा काम गर्न बाध्य रहेको श्रेष्ठले बताए ।
‘प्रहरी संगठनभित्र विशेषत प्रहरी जवान, सहायक हवल्दार, हवल्दार, असई, सईहरूको प्रोत्साहनको व्यवस्था राम्रो छैन। उनीहरूको पदोन्नतिको व्यस्था राम्रो छैन,’ श्रेष्ठले भने, ‘तपाईं हामीले यहीँ देखिराखेका छौं ।
९ महिनामा एसएसपीबाट डिआर्इजी, डिआर्इजीबाट एआर्इजी र एआइजीबाट आइजिपी हुने माथिल्लो तहको त्यसप्रकारले हुने गरेको छ भने १८/१९ वर्षसम्म एउटै पदमा जवानमा रहिरहेको । हवल्दारमा भइरहेको, असई भइरहेकाले पीडित अवस्थामा छन् ।’ श्रेष्ठले प्रहरीमा ३० वर्षे उमेर हद पनि अब हटाइने बताए ।