
काठमाण्डु, ८ असार- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेले आजदेखि अनसन स्थगित गर्ने भएका छन्।
बिहीबार सर्वोच्च अदालतले उनीमाथि आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि आज दिउँसो १ बजेदेखि अनसन स्थगित गर्ने भएका हुन्।
मुद्दा फिर्ता लिने निर्णयको विरोध गर्दै असार ३ गतेदेखि त्रिवि उपकुलपति कार्यालय अगाडि अनसनमा बसेका थिए । सर्वोच्चको आदेशपछि आज दिउँसो १ बजेदेखि अनसन फिर्ता लिन लागेको चलाउनेले बताए ।
जेठ ३० गते उनीहरूविरूद्धको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो। मुद्दा फिर्ता गर्ने निर्णयको विरोध गर्दै अनसन बस्न काठमाण्डु जिल्ला अदालत परिसर गएका चलाउने त्यहीँबाट पक्राउ समेत परेका थिए।
०७७ साल असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसरमा चलाउनेमाथि मरणासन्न हुनेगरी कुटपिट भएको थियो।नेपाली कांग्रेससम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रूपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, नीरज रानामगर र दीपक ओझाले चलाउनेमाथि कुटपिट गरेको आरोप छ।
चलाउनेले आफूविरूद्ध आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। त्यसयता उनी त्रिवि परिसरमा अनसनरत छन्।